काठमाडौं, कात्तिक ९ गते । नेपाल भाषाका म्युजिक भिडियोमा लोकप्रियता कमाएको अनस्क्रिन जोडी मनोज महर्जन र नेरिशा महर्जन नयाँ प्रेमिल गीत ‘ज्यु ला मज्यु ला’ मार्फत पुनः दर्शकमाझ आएका छन्। फरक परिवेश र पात्रमा प्रस्तुत भएको यो जोडीको नयाँ म्युजिक भिडियोले नेपाल भाषा संगीतप्रेमीको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रेमभावले भरिएको गीतको भिडियोमा मनोज र नेरिशाको आकर्षक अभिनय देख्न सकिन्छ जसमा मनोज फरक पात्रका रुपमा प्रस्तुत भएका छन् । भने नेरिशा मुख्य भूमिकामा छिन्। भिडियोमा अन्य कलाकारहरुको पनि अभिनय समेटिएको छ।

‘ज्यु ला मज्यु ला’ मा नरेश प्रधानको रचना रहेको छ भने भूपति राजोपाध्यायले शब्द संयोजन गर्नुभएको छ। नेपाल आइडलका उत्कृष्ट १० प्रतियोगीमध्येका गायक राज सायमी मानन्धरको संगीत तथा स्वर रहेको गीतमा देवेन्द्र नेवाःले संगीत संयोजन गर्नुभएको छ। गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ महेश्वर मान राजभण्डारीले गर्नुभएको हो।

भिडियोको निर्देशन, छायांकन तथा सम्पादन रजिन महर्जनले गर्नुभएको छ। स्टुडियो साउण्डमिलकी प्रबन्ध निर्देशक तथा गायिका बुनु श्रेष्ठले परियोजना निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको छ। भिडियोमा आराध्या लक्ष्मी खड्गी र नितेश तन्डुकारले सहायक निर्देशकको भूमिका निर्वाह गर्नुभएको छ ।

मानवीय संवेदना, जीवनका यथार्थ र सामाजिक चेतनालाई गीतमार्फत अभिव्यक्त गर्दै आउनुभएका गीतकार नरेश प्रधानले ‘आमा’ ‘नभन मेरो भाग्य’, ‘साथ हुँदैमा पैसाको’, ‘आऊ साथी’, ‘स्वीकार’ युवा तिमीलाई सलाम छ’ लगायतका गीतमार्फत आफ्नो सिर्जनात्मक पहिचान बनाईसक्नुभएको छ ।

विभिन्न विषयवस्तुमा गीत सिर्जना गर्दै आउनुभएका प्रधानको रचनामा तयार भएको ‘ज्यु ला मज्यु ला’ उहाँको पहिलो नेपाल भाषाको गीत हो।

नेपाल भाषाका म्युजिक भिडियोमा दर्शकको मन जित्दै आएका मनोज र नेरिशाको जोडीको नयाँ प्रस्तुति ‘ज्यु ला मज्यु ला’ ले प्रेमिल भाव र फरक प्रस्तुतिमार्फत दर्शकमाझ छुट्टै छाप छोड्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबरहरु