सुनिल धमाला र कुशल भुर्तेलको उत्कृष्ट साझेदारीमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तर हराएको हो। सुदूरपश्चिमले दिएको १ सय ११ रनको लक्ष्य पुलिस क्लवले १७ ओभरमा १ विकेट गुमाएर भेट्टायो।

धमाला र भुर्तेलले पहिलो विकेटका लागि ९७ रनको उत्कृष्ट साझेदारी गरे। धमालाले २ छक्का र ६ चौका मद्दतमा ५३ रन जोडे। भुर्तेल ५१ र अमित श्रेष्ठ १ रनमा नटआउट रहे। ४४ बलको सामना गरेका भुर्तेलले १ छक्का र ९ चौका हाने।

सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए।

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लवले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम ३३ दशमलव १ ओभरमा १ सय १० रन जोड्दा अलआउट भयो।

सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले समान ४ विकेट लिए।

सुदूरपश्चिमका खडक बोहोराले ४०, सञ्जु दमाईले ३५, अरुण ऐरीले १३ र अर्जुन साउदले १० रन जोडे। ६ ब्याट्सम्यान शून्य रनमै पवेलियन फर्के।

सम्बन्धित खबरहरु