अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेलगत्तै यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेका कतिपय नीति उल्ट्याइदिएका छन्।

पदभार ग्रहण गरेको केही घण्टाभित्रै उनले कोरोना महामारी नियन्त्रणका लागि अभियान तीव्र बनाउने कार्यकारी आदेश जारी गर्नाका साथै ट्रम्प प्रशासनले अख्तियार गरेका जलवायु परिवर्तन, आप्रवासन तथा जातीयसम्बन्धी नीति उल्ट्याइदिएका हुन्।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ : यी आदेशले ट्रम्प प्रशासनका नीति उल्ट्याउने मात्र नभई देशलाई अघि बढाउने छन।

 यस्ता छन् उनले जारी गरेका मुख्य निर्णय :

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा पुनः आबद्ध हुने (ट्रम्पले चीनसँग मिलेको आरोप लगाउँदै डब्लूएचओबाट अलग हुने निर्णय गरेका थिए)। भाइरस विज्ञ डाक्टर एन्थोनी फाउची यसै साता हुने डब्लूएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै सहागी हुने।

कोरोना महामारी सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने

ट्रम्पले केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा

मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण बन्द

सबै संघीय परिसरमा मास्क तथा भौतिक दूरीको नियम पालना गरिने

आगामी १०० दिनसम्म मास्क लगाइरहन नागरिकलाई आग्रह गर्ने अभियान थाल्ने

सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने

विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द। वातावरणवादी तथा अमेरिकी आदिवासीले उक्त परियोजनाको दशकौंदेखि विरोध गरिरहेका थिए।

सम्बन्धित खबरहरु