काठमाडौं – नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीले नेपाललाई हिन्दुराज्य बनाउने तयारी गरिरहेको दाबी गरेका छन् । आज माइतीघरस्थित धर्नामा सहभागी पाण्डेले यस्तो दाबी गरेका हुन् ।

‘‘सुन्दैछु, ओलीले हिन्दुराज्य बनाउने कोसिस गर्दै छन् । २३ गते हिन्दुराष्ट्र घोषणा गर्दै छन् भन्ने आँकलन पनि गर्न थालिएको छ,’’ उनले भने ।
पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डे ओलीले धर्मको आधारमा आफ्नो राजनीतिलाई अघि बढाएको बताएका हुन् । विघटित प्रतिनिधिसभाका सदस्य पाण्डेले ओलीका पछिल्ला कदमले उनी अब कम्युनिस्ट नेता नरहेको पुष्टि भएको पनि बताएका छन् ।

त्यस्तै ओलीको कदमले दक्षिणपन्थीहरु सल्बलाइरहेको उल्लेख गर्दै राजावादीहरुले अहिले उनलाई राजनेता भन्न थालेको पनि बताए । पञ्चायत कालमा कम्युनिस्ट नेताहरुमाथि गोली हान्न निर्देशन दिनेहरुले नै ‘अहिले नेपालमा ओलीजस्तो राजनेता कोही छैनन्’ भन्न थालेको पनि उनले बताए ।

सम्बन्धित खबरहरु