काठमाडौँ – सत्ता हातमा लिएर नेताहरूलाई गिरफ्तार गरेको म्यानमार सेनालाई अमेरिकाले कडा चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आङ साङ सूकीलगायतका नेताहरूलाई रिहा गरेर सत्ता नछाडे कडा कदम चाल्ने चेतावनी म्यानमार सेनालाई दिएका हुन् । साथै उनले तत्कालै म्यानमारका नेताहरूलाई सत्ता सुम्पिन पनि आग्रह गरेका छन् ।
यसबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्ति नै जारी गरेका छन् । ‘सेनाले कहिल्यै जनताको इच्छामाथि शासन लाद्ने अवसर खोज्ने वा विश्वसनीय निर्वाचनको नतिजालाई खारेज गर्ने मौका खोज्नुुहुन्न,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठक पनि बोलाउने तयारी छ । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि राष्ट्र संघले सुरक्षा परिषदको आपतकालिन बैठक बोलाएर थप छलफल गर्ने योजना बनाएको छ ।
सोमबार म्यानमार सेनाले सत्ता हातमा लिएपछि यसको संसारभर विरोध भइरहेको छ । नेपालले पनि म्यानमारका नेताहरूलाई गिरफ्तार गर्ने सेनाको कदमको विरोध गरेको छ ।