काठमाडौं – सरकारले खरिद गरेको १० लाख डोज कोरोनाविरुद्दको खोप ‘कोभिसिल्ड’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगकाे छ। एयर इन्डियाको विमानबाटमार्फत दिल्लीबाट १ः५९ मा काठमाडौँ विमानस्थलमा अवतरण भएको हो। नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो।
सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो। जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आएको हो।
उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ। स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने जनाएको छ।
सरकारले उक्त खोप खरिदका लागि अग्रिम भुक्तानी गरेको थियो। नेपालको खरिद ऐनले अग्रिम भुक्तानी गर्न नमिल्ने भएपछि मन्त्रिपरिषद्ले अग्रिम भुत्तानीका लागि निर्णय गरेको थियो।
सरकारले फागुन २३ गतेदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो।