काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ ।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा विदेश सचिव श्रृंगला नेपाल आउनुभएको हो । श्रृंगला इन्डियन एयर फोर्सको चार्टर्ड विमानबाट आज बिहान १० बजेर ४० मिनेटमा त्रिभुवन विमानस्थलमा उत्रनुभएको हो । कोरोनोको कारण नेपाल भारतबीच नियमित उडान नभएका कारण उहाँ इन्डियन एयर फोर्सको विमानबाट नेपाल आउनु भएको परराष्ट्र सचिव पौडेलले जानकारी दिनुभयो । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो ।

उहाँले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली,परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ भने त्यसअघि परराष्ट्र सचिव श्रृंगलाले दुईपक्षीय विषयहरुमा वार्ता गर्नुहुनेछ ।

साथै, भोलि ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर उहाँ स्वदेश फर्किने कार्यक्रम छ ।

भेटवार्तामा नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाटको क्रममा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुने बताइएको छ ।

सम्बन्धित खबरहरु