काठमाण्डौ – कोभिड–१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको कालो ढुसीको सङ्क्रमण नेपालमा पनि भयावह बन्दै गएको छ । अहिलेसम्म झन्डै एक दर्जन मानिसमा पुष्टि भएको विवरण आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दश दिनअघि मन्त्रालयले तीन–चार जनामा उक्त घातक कालो ढुसीको सङ्क्रमण देखिएको बताएको थियो । विभिन्न ठाउँबाट गरी अहिलेसम्म म्यूकोर्माइकोसिसका १२ वटा रिपोर्टिङ भएका आएका मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार वीरगन्ज, नेपालगन्ज र काठमाण्डूलगायत ठाउँका अस्पतालबाट कालो ढुसीको सङ्क्रमणका विवरणहरू आएका हुन् । भारतमा ‘ब्ल्याक फङ्गस’ अर्थात् कालो ढुसीबाट हजारौँ मानिस सङ्क्रमित भएको विवरण सार्वजनिक भएका छन् ।

केही दिनअघि उत्तर प्रदेशका एउटै बिरामीमा ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र येलो फङ्गसको विरल सङ्क्रमण देखिएको बीबीसी हिन्दीले जनाएको थियो ।

के गर्दैछ नेपाल सरकार ?
प्रवक्ता पौडेलका अनुसार नेपालमा सुरुमा सीमावर्ती सहर वीरगन्जबाट कालो ढुसीको सङ्क्रमणबारे मन्त्रालयलाई रिपोर्ट गरिएको थियो । त्यसयता निगरानी थालेको मन्त्रालयले उक्त ढुसीको सङ्क्रमण रोकथाम तथा उपचारबारे ‘प्रोटोकल’ बनाएर सार्वजनिक गर्ने क्रममा रहेको उनले बताए ।

नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको सङ्गठनले भने रोकथाम र व्यवस्थापनसम्बन्धी एउटा एड्भाइजरी प्रकाशित गरिसकेको छ । चिकित्सकहरूका अनुसार कालो ढुसीबाट सङ्क्रमितको उपचारमा मुख्यतया ’एम्फोटेरिसिन बी’ औषधिको प्रयोग गर्ने गरिएको छ ।

नेपालमा त्यो औषधिको प्रयोग कालाजारको उपचारमा हुँदै आएको छ । अहिलेसम्म बजारमा उपलब्धबाट काम चलाइँदै आएको भए पनि पछिल्लो समय भारतले निर्यातमा रोक लगाइदिएपछि समस्या देखिएको प्रवक्ता पौडेलले उल्लेख गरे ।

उनले भने – ‘त्यो औषधिको उपलब्धता अहिले पनि चुनौतीपूर्ण नै छ। हामीसँग अलि कम नै छ। हामीले डब्ल्यूएचओको संयन्त्रबाट माग गरेका छौँ। जुन महिनाको २ तारिखसम्म आइपुग्ने कुरा छ ।’ पहिलो खेपमा तीन हजार भाएल माग गरिएको उनले बताए ।

कस्तो बेला बढी जोखिम हुन्छ ?

कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो जसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ ।
काठमाण्डूको तिलगङ्गा इन्स्टिच्यूट अफ अफ्थ्याल्मलजीका प्रमुख कार्यकारी अधिकृत तथा कोर्निआ विशेषज्ञ डा.रीता गुरुङका अनुसार मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बेला म्यूकोर्माइकोसिस हुने गर्छ ।

अहिले चर्चामा रहेका ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र एलो फङ्गस एउटै प्रजातिको भएको उनी बताउँछिन् । उनले भनिन् – ‘त्यस्ता ढुसी त हाम्रो वातावरणमा जहाँतहीँ हुने तर जोकोहीलाई तिनले आक्रमण गरेका हुँदैनन्, उसैलाई गर्छन् जसमा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ ।’

रेटिना विशेषज्ञ डा. नीतिन तुल्स्यानका अनुसार मधुमेह रोगी, जलेका बिरामी र क्यान्सरका बिरामीमा म्यूकोर्माइकोसिसको समस्या बढी देखिने गर्छ ।

म्यूकोर्माइकोसिसबाट कसरी बच्ने ?

आफ्नो शरीरमा रोगप्रतिरोधी क्षमतालाई घट्न नदिने कुरामा विशेष चनाखो हुनुपर्ने डा. गुरुङको सुझाव छ । उनले थपिन्, – ‘अर्को कुरा कोरोनाभाइरस सङ्क्रमित भएपछि मान्छेबाट सुनेकै भरमा स्टेरोइडको प्रयोग गर्नै भएन। हामीकहाँ त्यसको गलत प्रयोग भएजस्तो मलाई लाग्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल शरीरमा रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाउने औषधिको विवेकपूर्ण प्रयोग गर्नका लागि आफूहरूले अनुरोध गर्दै आएको बताउँछन् ।

नाक रातो हुने, नाकमाथिको छाला कालो देखिने र आँखा खोल्न गाह्रो हुने समस्या देखिने भएपछि चिकित्सककहाँ जान डा. गुरुङ सुझाउँछिन् । मान्छेको मस्तिष्कमा सङ्क्रमण पुगेमा टाउको दुख्ने, वान्ता हुने, शरीरमा कमजोरी हुने जस्ता लक्षण देखिने रेटिना विशेषज्ञ डा. तुल्स्यान बताउँछन् । बीबीसी नेपाली सेवाबाट ।

सम्बन्धित खबरहरु