काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनकाे प्याकेज तयार गर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल पर्यटन बोर्डले आयोजना गरेको पर्यटन व्यवसायीसँगको अन्तर्क्रियामा मन्त्री भट्टराईले कोभिड–१९ का कारण अझै केही समय बाह्य पर्यटन आवागमन कम हुने बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न स्वदेशी पर्यटन प्याकेज बनाउन आग्रह गर्नुभएको हो ।

व्यवसायीले पर्यटक आवागमन प्रवेशाज्ञा खोली पर्यटकीय गतिविधि सञ्चालन गर्न माग गरेका थिए । व्यवसायीको धारणा सुनेपश्चात मन्त्री भट्टराईले अहिले आवागमन प्रवेशाज्ञा खुला गरेपनि धेरै पर्यटक आउँछन् भनेर उत्साहित हुने अवस्था नरहेको बताउँदै विदेशीलाई जस्तै स्वदेशीलाई पनि पर्यटन प्याकेज बनाएर व्यवसाय गर्न आग्रह गर्नुभयो ।

अन्तरराष्ट्रिय उडानमा दक्षिण एशियामा लचकता अपनाउने देश नेपाल भएको भन्दै मन्त्री भट्टराईले विश्वमा ३२ प्रतिशत उडान हुदाँ नेपालमा भने ४० प्रतिशत उडान भइरहेको उल्लेख गर्नुभयो । भट्टराईले नेपालको विमानस्थलमा प्रयोग भएको स्वास्थ्य प्रोटोकल विश्वमा नै उत्कृष्ट भएको भन्दै अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले २५ हजार डलरले नेपाललाई पुरस्कृत गरेको समेत बताउनुभयो ।

साथै पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले पनि पर्यटन क्षेत्र खोल्नका लागि कार्ययोजनासहित आउन व्यवसायीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा ट्रेकिङ् एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एशोसिएसन अफ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरलगायत पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित खबरहरु