काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत कोभिड- १९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको भन्दै परीक्षा स्थगित गर्न सिफारिस गरिएको जानकारी दिएका छन्  ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु,’ उनले लेखेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन ३१ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने गरी तयारी गरेको थियो ।

गत जेठ २६ गतेबाट गर्ने भनिएको परीक्षा लकडाउनका कारण स्थगित भएको थियो । त्यसपछि बोर्डले साउन ५ गते एक सूचना प्रकाशन गर्दै साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाएको थियो । परीक्षा सञ्चालनका लागि तत्कालीन सिसिएमसीले स्वास्थ्य मापदण्ड पूरा गर्ने सर्तमा होम सेन्टर (आफू पढेको विद्यालय) मै परीक्षा दिने व्यवस्था गर्न भनेको थियो ।

सोही आधारमा बोर्डले परीक्षाका लागि सबै तयारी पूरा गरेको भएपनि अहिले कोरोना सङ्क्रमणको दर बढेको भन्दै परीक्षा स्थगन गर्न माग गर्न थालिएको छ । सामाजिक सञ्जालमा ‘क्यान्सिल एनइबी एक्जामस्’ #CancelNEBExams भनेर ह्यासट्याग चलाइएको छ । यतिबेला उक्त ह्यासट्याग ट्रेण्डिङमा रहेको छ ।

तीन लाख ८६ हजार विद्यार्थी एकैपटक परीक्षा दिँदा विद्यालयहरूमा भिडभाड बढ्ने र त्यसले सङ्क्रमणलाई झनै बढाउने भन्दै परीक्षा तत्कालै स्थगन गर्न विभिन्न सरोकारवाला निकाय र अभिभावकले आग्रह गरिरहेका छन् ।

सम्बन्धित खबरहरु