काठमाडौं – कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्न हिजो मात्रै सिसिएमसीलाई सिफारिस गरेको थियो ।
शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको छ । यद्यपि परीक्षा स्थगित भएपनि फेरि कार्यविधि बनाएर भएपनि भौतिक रुपमै परीक्षा लिइने पनि बोर्डले बताएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले भने, “अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि अर्को मितिबारे सूचना दिइनेछ।”
बोर्डको अहिले जारी बैठक सकिएपछि औपचारिक रूपमा निर्णय सार्वजनिक गरिने अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन ३१ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने गरी तयारी गरेको थियो ।
गत जेठ २६ गतेबाट गर्ने भनिएको परीक्षा लकडाउनका कारण स्थगित भएको थियो । त्यसपछि बोर्डले साउन ५ गते एक सूचना प्रकाशन गर्दै साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाएको थियो । परीक्षा सञ्चालनका लागि तत्कालीन सिसिएमसीले स्वास्थ्य मापदण्ड पूरा गर्ने सर्तमा होम सेन्टर (आफू पढेको विद्यालय) मै परीक्षा दिने व्यवस्था गर्न भनेको थियो ।
सोही आधारमा बोर्डले परीक्षाका लागि सबै तयारी पूरा गरेको भएपनि अहिले कोरोना सङ्क्रमणको दर बढेको भन्दै परीक्षा स्थगन गर्न माग गरिएको थियो । सामाजिक सञ्जालमा ‘क्यान्सिल एनइबी एक्जामस्’ #CancelNEBExams भनेर ह्यासट्याग चलाइएको थियो ।
तीन लाख ८६ हजार विद्यार्थी एकैपटक परीक्षा दिँदा विद्यालयहरूमा भिडभाड बढ्ने र त्यसले सङ्क्रमणलाई झनै बढाउने भन्दै परीक्षा तत्कालै स्थगन गर्न विभिन्न सरोकारवाला निकाय र अभिभावकले आग्रह गरेका थिए ।