काठमाडौं – एलायन्स फर गाभीले नेपाललाई कोरोनाविरुद्धको एक लाख डोज फाइजर खोप अनुदानमा दिने भएको छ। गाभीले आगामी अक्टोबरसम्ममा फाइजर खोप उपलब्ध गराउने जनाएको हो ।

गाभीले परीक्षण स्वरुप उक्त खोप उपलब्ध गराउन लागेको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले जानकारी दिए। उनले भने, ‘गाभीले खोप सेप्टेम्बरमै पठाउने कुरा थियो तर पछिल्लो समय प्राविधिक तयारी गर्नुपर्ने हुनाले अक्टोबरमा पठाउने तय भएको छ।’

खोप भण्डारणका लागि नेपालमा भौतिक पूर्वाधार छैन । फाइजर खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ । त्यसका लागि विशेष खालको रेफ्रजेटर आवश्यक पर्छ । यसका लागि युनिसेफले खोप आउनुअघि रेफ्रिजेटर उपलब्ध गराउने उनले बताए। पोखरेलका अनुसार युनिसेफले चार वटा फ्रिज उपलब्ध गराउने बताइएको छ।

प्रमुख पोखरेलले फाइजर खोप अन्य खोपभन्दा फरक भएकाले उक्त खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने बताए। ‘फाइजर हाम्रो लागि नयाँ भयो। त्यसको सबै तयारी अलग्गै गर्नुपर्छ। डोज पनि कम, सिरिंज पनि ०.३ एमएलको आवश्यक पर्छ। कोल्ड चेन पनि नयाँ चाहियो। यो खोप पाउडरमा हुने भएकाले घोल्नुपर्ने हुन्छ। त्यसका लागि तालिम दिनुपर्ने हुन्छ। घोलेर एक घण्टा बाहिर राख्नुपर्छ।’

नेपालले ६० लाख डोज फाइजर र ४० लाख मोर्डना खोप खरीद गर्न लागेको छ। जुन खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरिसकेको छ।

एक लाख डोजको परीक्षणसँगै थप खोप भण्डारणका लागि कोल्ड चेनको क्षमता बढाउने र बिस्तार गर्ने कार्य पनि अगाडि बढाइने बताइएको छ।

नेपालमा १८ वर्ष मुनिका करिब ३४ लाख बालबालिका भएको अनुमान स्वास्थ्य मन्त्रालयको छ। नेपालमा सोमबारसम्म कुल जनसंख्याको १८ प्रतिशत व्यक्तिले कोरोना विरुद्धको पहिलो डोज लगाइसकेका छन् भने १५ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन्।

सम्बन्धित खबरहरु