काठमाडौँ । वर्ल्ड भेगान अर्गनाइजेशन नेपालले विशुद्ध शाकाहारी जीवनशैली बनाउने उद्देश्यका साथ आगामी वैशाखमा ‘हिमालय भेगान महोत्सव २०२२’ गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी शाकाहरी भोजन, शाकाहारी व्यक्तित्व, शाकाहारी जीवनशैली प्रवर्धनका लागि उक्त महोत्सव गर्न लागिएको वर्ल्ड भेगानले जानकारी दिएको हो । उक्त महोत्सव काठमाडौँमा आगामी वैशाख २ देखि ४ गतेसम्म र वैशाख ५ देखि ७ गतेसम्म भुटानको राजधानी थिम्पुमा हुनेछ ।
आयोजक संस्थाका अध्यक्ष सुरेशप्रसाद शर्माका अनुसार हिमालय क्षेत्रमा पहिलो पटक हुन लागेको महोत्सव रमाइलो र ज्ञानवर्दक हुनेछ । महोत्सवमा पाक कलाको प्रदर्शनी, म्याराथन दौड, शाकाहारी र प्राणी कल्याणका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरका प्रसिद्ध व्यक्तित्वको सहभागिता रहनेछ ।
शर्माले विशुद्ध शाकाहारी आहार, आहार मात्र नभई मानव समाजलाई दया, करुणा, प्राणी कल्याण र अहिंसाको मार्गमा चल्न सिकाउने माध्यम पनि भएको बताए । विश्वमा नै विशुद्ध शाकाहारी जीवनशैली फस्टाउँदै गएको अवस्थामा नेपालमा पनि पहिलो पटक उक्त सम्मेलन गर्न लागिएको हो । जलवायु परिवर्तन र त्यसले निम्त्याएका विभिन्न रोगसँग लड्न विशुद्ध शाकाहारी जीवनशैली एउटा महत्वपूर्ण, सहज र प्रभावकारी माध्यम बन्दै गएको छ।