संबिधान दिवसकाे अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम “हाम्राे धुन – हाम्राे धड्कन” सम्पन्न भएकाे छ । गत आइतबार सांस्कृतिक संस्थान (नाचघर)मा आयोजित कार्यक्रममा नेपालका प्रतिष्ठित कलाकारहरुद्वारा लाेपाेन्मुख माैलिक धुनहरु प्रस्तुत गरिएको हो । कार्यक्रममा सौका, थारु र वालुङ गरि तीन समुदायका धुनहरु प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रमा स्वागत नृत्य सहित वालुङ समुदायको घाना ढाकी किला (घर पैँचो गीत), थारु समुदायको थारपैयाँ भाका, सौका समुदायको झुम्का भाका, वालुङ समुदायको लुङ्मा ठामी पाङ्सोम देमुना (लोकभाका) र थारु समुदायको ढुङ्ग्रु भाका प्रस्तुत गरिएको थियो । साथै सौका समुदायको छलिया भाका, वालुङ समुदायको ठिही फामी ङाक्छ्याङ अर्थात अर्ती उपदेशको गीतको भाका, थारु समुदायको हुर्दङ्या भाका र सौका समुदायको छिराबैरा भाका गरी तीन समुदायका नौ वटा लोपोन्मुख मौलिक नेपाली धुनहरु प्रस्तुत गरिएको थियो ।

प्राज्ञ अशोक राईले उक्त कार्यक्रमको संयोजन तथा संगीत निर्देशन गरेका थिए भने सांस्कृतिक संस्थानका नृत्य प्रवन्धक शारदादेवी सिलवालले प्रस्तुत नृत्यहरुको निर्देशन गरेका थिए ।

सम्बन्धित खबरहरु