विराटनगर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहद्वारा हत्या गरिएका मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको परिवारले न्याय नपाए आन्दोलन गर्ने चेतावनी दिइएको छ।

बिहीबार श्रेष्ठको अन्तिम दाहासंस्कार तथा श्रद्धाञ्जली सभामा नेपाल शिक्षक महासंघका केन्द्रीय उपमहासचिव दिनानाथ तिम्सिनाले पीडित परिवारले न्याय नपाए सबै शिक्षक मिलेर आन्दोलन गर्नुको विकल्प नरहने बताए।

आपराधिक समूहबाट एउटा शिक्षकको हत्या भएको भन्दै तिम्सिनाले भने, ‘तत्काल पीडित परिवारले न्यायको अनुभूति गर्न नपाए सबै शिक्षक एकतावद्ध भएर आन्दोलनमा जान्छौं।’ उनले यस घटनालाई सामान्य ठानिएमा भोलिका दिनमा अन्य शिक्षक पनि विप्लव समूहको क्रुर र अपराधिक व्यवहारको शिकार बन्नुपर्ने अवस्था आउने बताए।

बालबालिकालाई कखरा सिकाउने र समाजमा सधै शिक्षाको ज्योति छर्ने शिक्षकको हत्या गरेर विप्लव समूहले आफ्नो अमानवीय व्यवहार छर्लङ्ग पारेको उनको तर्क छ।

विप्लव समूहले घटनाको जिम्मा लिएर सार्वजनिक गरेको विज्ञप्तिमा आफ्नाविरुद्ध सुराकी गरेको र सच्चिन पटकपटक आग्रह गर्दा पनि नसच्चिएको उल्लेख छ। उसले हतियारले आक्रमण गर्न थालेपछि प्रतिकारमा शिक्षक श्रेष्ठको मृत्यु भएको दाबी गरे पनि घटनाको वास्तविकता त्यस्तो नरहेको प्रहरीले जनाएको छ।

कुनै हतियार साथमा नभएको अवस्थामा घरबाटै निसशस्त्र रुपमा अपहरण गरेर लगेपछि आफ्नै नियन्त्रणमा राखेर उक्त समूहले उनको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ।

मिक्लाजुङ गाउँपालिका–१ स्थित बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको विप्लव समूहले मंगलबार बिहान घरबाट अपहरण जंगलमा लगेर घाँटी रेटेर हत्या गरेको थियो।

सम्बन्धित खबरहरु