बेइजिङ, भदौ २४ गते । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सोमबार बेइजिङमा भेटवार्ता गर्नुभएको छ । भेटमा स्पेनका प्रधानमन्त्री सान्चेजले बेइजिङ र युरोपियन युनियनबिचको गतिरोधका बाबजुद चीनसँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ चीन भ्रमणका क्रममा सोमबार ‘निष्पक्ष व्यापार व्यवस्था’का लागि आह्वान समेत गर्नुभएको छ ।
सान्चेजले सोमबार नै अपराह्न बेइजिङस्थित सुसज्जित ‘ग्रेट हल अफ द पिपुल’मा स्थानीय समकक्षी ली कियाङलाई भेटेर स्पेनले चीनसँगको सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको बताउनुभएको हो। सान्चेज भ्रमणको क्रममा साङ्घाई पनि जानुहुने कार्यक्रम रहेको छ । साङ्घाईमा उहाँले स्थानीय अधिकारी र व्यवसायीलाई भेट्नुका साथै नयाँ सेर्भान्टेस इन्स्टिच्युट सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
बेइजिङमा सोमबार आयोजित एक मञ्चमा सान्चेजले चीन र स्पेनबिचको ‘बलियो सम्बन्ध’को प्रशंसा गर्नुभयो । सान्चेजले बेइजिङ्मा ‘स्पेन–चाइना बिजनेस एडभाइजरी काउन्सिल’ का पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्नुभएको थियो । काउन्सिल दुई देशबिचको ‘व्यापार र लगानी सम्बन्धलाई प्रगाढ बनाउने’ प्रयासको एक हिस्सा हो । भेटमा उहाँले दुवै राष्ट्रलाई फाइदा पुर्याउने र पारस्परिकतामा आधारित सन्तुलित सम्बन्धलाई बढवा दिनु मुख्य उद्देश्य रहेको बताउनुभयो । राष्ट्रपति सी चिनफिङ र शीर्ष सांसदहरूसँग अपराह्न भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँको कार्यालयले उपलब्ध गराएको कार्यतालिकामा उल्लेख छ ।
सन् २०२३ को मार्चमा चीनको हाइनान प्रान्तको डाभोसमा आयोजित बोआओ फोरममा भाग लिएका साञ्चेजले आफ्नो अन्तिम चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग भेट गर्नुभएको थियो । भेनेजुएलाका विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटिया स्पेनमा निर्वासनका लागि भागेको केही समयपछि प्रधानमन्त्री साञ्चेज बेइजिङ आइपुग्नुभएको हो ।
शनिबार समाजवादी पार्टीको बैठकमा सान्चेजले उरुटियालाई ‘एक नायक’को रूपमा वर्णन गर्दै उहाँलाई शरण दिने घोषणा गर्नुभएको थियो । भेनेजुएलाका राष्ट्रपति मादुरोको सरकार र बेइजिङबीच घनिष्ठ सम्बन्ध छ । सान्चेजको यो भ्रमण युरोपेली सङ्घ र चीनबिच बढ्दो व्यापार तनावको पृष्ठभूमिमा हुन लागेको हो । युरोपेली आयोगले गत महिना चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा अतिरिक्त ३६ प्रतिशतसम्म पाँच वर्षे आयात शुल्क लगाउने घोषणा गरेको थियो भने गत महिना बेइजिङले चीनमा आयात हुने केही दुग्धजन्य पदार्थमा ईयूले दिएको अनुदानबारे छानबिन सुरु गरेको थियो ।
स्रोत : एएफपी