काठमाडौँ, असार ८ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गम्भीर प्रकृतिका रोगहरूको उपचारका लागि स्वास्थ्य बीमा अन्तर्गत अतिरिक्त एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गर्नुभएको छ।

स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउँदै नागरिकहरूलाई सेवा विस्तार गर्ने उद्देश्यसहित मन्त्री पौडेलले उक्त निर्णय गर्नुभएको हो। निर्णय अनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर जस्ता गम्भीर रोगका बिरामीहरूले बीमा अन्तर्गत एक लाख रुपैयाँसम्मको थप उपचार सुविधा पाउनेछन्। मन्त्रीस्तरीय निर्णयअनुसार स्वास्थ्य बीमा नियमावलीमा भएको प्रावधानलाई कार्यान्वयन गर्दै स्वास्थ्य मन्त्रालयले बीमा बोर्डलाई सात दशक पार गरिसकेका ज्येष्ठ नागरिकले मात्र पाउनेगरी सो सुविधा व्यवस्थापन गर्न पत्राचार गरिसकेको छ।

साथै मन्त्री पौडेलले स्वास्थ्य बीमामा सर्वसाधारणको आकर्षण बढाउने उद्देश्यले ‘बिमा थैली’ प्रणाली लागू गर्ने तयारीसमेत अघि बढाउनु भएको छ। बीमा थैली निर्माण गर्दा दुरुपयोग नहोस् भन्ने सुनिश्चित गर्न मन्त्रालयले स्पष्ट निर्देशन समेत दिएको छ।

मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई दिएको निर्देशनमा “स्वास्थ्य बीमाका सुविधा थैलीहरू निर्धारण गर्दा रोगको भार, नागरिकको स्वास्थ्य आवश्यकता, लागत प्रभावकारिता र वित्तीय दिगोपनालाई आधार मानेर नीति बनाइनुपर्नेछ।” भनि उल्लेख गरिएको छ। स्वास्थ्य बीमा कोषको पारदर्शिता, प्रभावकारिता र दीगो उपयोगितालाई ध्यानमा राख्दै सरकारले बीमा सुविधा थप सशक्त बनाउन थालेको संकेत मन्त्री पौडेलको यो निर्णयले दिएको छ।

सम्बन्धित खबरहरु