दिल्ली प्रहरीले राघव चड्ढासहित आम आदमीका चार सांसदलाई हिरासतमा लिएको छ । गृहमन्त्री अमित शाहको घरमा धर्ना दिन गएका उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

उनीहरुले गृहमन्त्री शाहको घरबाहिर अनुमतिबिना धर्ना दिएको प्रहरीले जनाएको छ । गृहमन्त्रीको घरअगाडि धर्ना दिएका कारण प्रहरीले उनीहरुलाई हिरासतमा लिएको हो ।

आम आदमी पार्टीले ट्वीट गर्दै दिल्ली प्रहरीले सांसद ऋतुराज, राघव चड्ढा, कुलदीप कुमार र सञ्जीवलाई नियन्त्रणमा लिएको जनाएको छ ।

साथै बिजेपीको अगुवाइमा नगर निगममा २४६७ करोड भारतीय रुपैयाँ अनियमितता गरेको पनि आरोप लगाइएको छ । सोही विषयमा गृहमन्त्रीको घरमा सांसदहरु धर्ना दिन पुगेका थिए ।

गृहमन्त्री अमित शाहमाथि निशाना साध्दै आम आदमी पार्टीले प्रहरीले भलै सांसदहरुलाई जेल हाले पनि उनीहरुको आवाज कसैले दबाउन नसक्ने बताएको छ ।

दिल्ली प्रहरीले पनि अनुमतिबिना गृहमन्त्रीको घरमा धर्ना दिन गएकाले सांसदहरुलाई नियन्त्तणमा लिइएको स्वीकारेको छ ।

यसअघि पनि किसान आन्दोलनका बेला भारत बन्द हुँदा आम आदमीले मुख्यमन्त्री अरविन्द केजरीवाललाई घरभित्रै नजरबन्दमा राखिएको आरोप लगाएको थियो ।

सम्बन्धित खबरहरु