
काठमाडौैँ, १३ असोज । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आइतबार घर–घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतिक फूलपाती भित्र्याएर मनाइँदैछ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ।
फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पनि उनले बताए।
हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहेको छ।