काठमाडौँ, असोज २६ गते । स्वास्थ्य सेवा प्रणाली पहिले नै कमजोर र मध्यम आय भएका देशहरूमा क्यान्सरको भार तीव्र रूपमा बढ्दै गएको छ । विशेषज्ञहरूले यदि रोकथामका ठोस कदम आजै नचालिए स्थिति अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय पत्रिका द ल्यान्सेटमा प्रकाशित एक नयाँ रिपोर्टअनुसार सन् २०५० सम्म क्यान्सरका केसहरू तीन करोड पुग्ने र १ करोड ८६ लाख मानिसको मृत्यु हुने सम्भावना छ । रिपोर्टअनुसार हृदय रोगपछि क्यान्सर अहिले संसारमा मृत्युको दोस्रो ठूलो कारण बनेको छ ।

क्यान्सर एउटा यस्तो घातक रोग हो, जसले विश्वभर करोडौं मानिसको जीवन प्रभावित गरिरहेको छ । नयाँ रिपोर्टले अनसुार सन् १९९० देखि २०२३ सम्म क्यान्सरका केस र मृत्यु दर दुवै तीव्र रूपमा बढेका छन् । उपचार र रोकथामका प्रयासमा प्रगति भएको छ तर रोगको फैलावट भने रोकिन सकेको छैन । अध्ययनका तथ्यांकअनुसार सन् २०२३ मा विश्वभर १ करोड ८५ लाख मानिसमा क्यान्सर पत्ता लागेको थियो भने १ करोड ४ लाख मानिसको मृत्यु भएको थियो । यी तथ्यांकमा सामान्य छालाको क्यान्सर भने समावेश छैन ।

नयाँ विश्लेषणमा जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री, मृत्यु दर्ता प्रणाली र क्यान्सरका बिरामीका परिवार वा हेरचाहकर्तासँगका अन्तर्वार्ताबाट संकलित तथ्यांक प्रयोग गरिएको थियो । अध्ययनले सन् १९९० देखि २०२३ सम्म २०४ देश र क्षेत्रका ४७ प्रकारका क्यान्सर र ४४ जोखिम कारकको विश्लेषण गरेको छ ।

सम्बन्धित खबरहरु