काठमाडौँ, कात्तिक ८ गते । छठपर्व शुरू भए संगै तराई मधेशमा चहलपहल बढेको छ । स्थानीय बजारहरूमा छठको लागि चाहिने सरसामान किन्नेको घुईंचो लागेको छ । छठपर्वका लागि आवश्यक बाँसका कोनिया, ढाकी, नाङ्लो, माटोका हात्ती, दियोलगायत सामग्रीका साथै केरा, नरिवल, उखु, भोगटे, हरियो बोडी, मुला, अदुवाको बोट र अन्य पूजा सामग्रीको बिक्री बढेको छ ।
व्यापारीहरूले पनि यो पर्वलाई लक्षित गर्दै पर्याप्त मात्रामा सामग्री भण्डारण गरेका छन् । सिरहा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाहीलगायत जिल्लाहरुमा छठपर्वको रौनक फैलिएको छ । बजारहरू रङ्गीन वस्तु, पूजा सामग्री र पारम्परिक मिठाइहरूले सजिएका छन् भने नदीघाट र पोखरीहरूमा बर्तालुहरूले घाट सफा गर्ने र सजाउने काम गरिरहेका छन् ।
यसपालिको छठ पर्व आज बेलुकी ‘नहाय–खाय’ अर्थात नुहाएर खाने विधिबाट शुरू हुँदैछ । यसैबीच मधेश प्रदेश सरकारले छठपर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिएको छ । छठपर्वको भोलिपल्ट कात्तिक ११ गते मंगलवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गर्नुपर्ने भएकाले प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
यसअघि सङ्घ सरकारले छठपर्वका लागि सन्ध्याको अस्ताउँदो सूर्यलाई अघ्र्य दिने दिन पर्सि कात्तिक १० गते सोमवार देशभर सार्वजनिक बिदा दिइसकेको छ । यस्तै तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू गरिएको छ । छठपर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि मधेश प्रदेश प्रहरी कार्यालयले ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

सम्बन्धित खबरहरु