कात्तिक १० गते। मिथिलाञ्चलको महान सांस्कृतिक तथा धार्मिक पर्व छठ सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिई भव्य रुपमा देशभर मनाइँदैछ । चार दिनसम्म मनाइने यो पर्वको आज तेस्रो दिनलाई ‘सन्ध्या अर्घ’ को रुपमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाउन लागिएको हो ।

यस अवसरमा सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको विभिन्न स्थानमा रहेका नदी, पोखरी र तलावहरलाई दुलही झैं सजाइएका छन् । व्रतालुहरुले बिहानदेखि निराहार रहेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तयारी गर्नुभएको छ ।

उहाँहरुले नयाँ कपडा, प्रसाद, फलफूल, ठकुवा, भुसुवा, नारिवल, उखु आदी सामग्रीका साथ नदी किनारमा साजसज्जा सहित बनाइएको घाटमा पूजा सामग्री राखेर बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्यसँगै दुध र जल अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गर्नेछन् ।

मिथिलाञ्चलमा छठलाई ‘सूर्य उपासना र पवित्रताको पर्व’ को रुपमा लिइन्छ । यस पर्वमा व्रतालुहरूले आत्मशुद्धि, सन्तानको दीर्घायू, परिवारको सुख–शान्ति र समृद्धिको कामना गर्छन् ।

छठ पर्वमा महिलाहरुको प्रमुख भूमिका रहन्छ, जहाँ उहाँहरुले निष्ठा, संयम र भक्ति भावका साथ पूजा सम्पन्न गर्छन् । छठको चौथो दिन अर्थात् मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुनेछ ।

सम्बन्धित खबरहरु