कार्तिक २३ । पोर्चुगलको राजधानी सहर लिस्बनमा हजारौं मानिसले आन्दोलन गरेका छन् । प्रस्तावित श्रम कानुनविरुद्ध उनीहरुले आन्दोलन सुरु गरेका हुन् । लिस्बनको मुख्य इलाकामा झन्डै १ लाख मानिस जम्मा भएको पोर्चुगलको सबैभन्दा ठूलो मजदूर संगठन सीजीटीपीले जनाएको छ।

पोर्चुगल सरकारले मालिकहरुलाई सहज हुनेगरी संसद्मा विधेयक पेश गरेको छ । जसअनुसार कर्मचारी बर्खास्त गर्न, अन्य कम्पनीहरुसँग आउटसोर्सिङ गर्न तथा केही बिदा कटौती गर्न पाइनेछ । गर्भपतन भएका महिलाहरुलाई केही दिन आराम गर्नका लागि दिइने सुविधासमेत कटौती गरिएको छ ।

सीजीटीपीका प्रमुखले यसलाई कामदारमाथि मुलुकमा भएमध्येको एक ठूलो हमला भनेका छन् । उनले ११ डिसेम्बरका लागि आम हड्ताल घोषणा गरिसकेका छन् ।सरकारको प्रस्तावलाई विपक्षी उग्र दक्षिणपन्थी पार्टी चेगाले समर्थन गरेकाले यो विधेयक चाँडै पारित हुने देखिएको छ । आन्दोलनरत पक्षले प्रगतिशील सुधारको माग गरेका छन् ।

प्रदर्शनमा सहभागी मिरियम एल्भ्सले भनिन्,‘यो स्पष्ट प्रतिगाामी कदम हो । यसले कार्यस्थलमा पूर्ण असुरक्षा सिर्जना गर्छ ।’ ३४ वर्षीय माडालेना पेनाले सरकारले धाँधली, चलाखीपूर्ण र चोरी बाटोबाट यस्तो प्रस्ताव ल्याएको बताए । आगामी मेइमा हुने निर्वाचन अगावै सत्ता र प्रतिपक्ष मिलेर पोर्चुगलमा नयाँ कानुन ल्याउन लागेका हुन् ।

पोर्चुगलमा कामदारहरुले तलब वृद्धिको पनि माग गरेका छन् । यहाँ ५० प्रतिशतभन्दा कम कामदारले १ हजार युरो प्रतिमहिना कमाउने गरेको आधिकारिक तथ्यांकले देखाउँदै आएको छ । न्युनतम तलब ८७० युरो छ ।

सम्बन्धित खबरहरु