
काठमाडौं, २४ गते। आइवर्ट नेपालको आयोजनामा चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव तथा छैठौं लघुचलचित्र प्रतियोगिता हुँदैछ। कार्यक्रम मंसिर १ गते चलचित्र विकास बोर्डमा हुने महोत्सवकी निर्देशक संगिता श्रेष्ठले जानकारी दिनुभयो।
श्रेष्ठका अनुसार महिला निर्देशकद्वारा निर्देशित विभिन्न देशका चलचित्रहरूको प्रदर्शनले नेपाल र अन्तर्राष्ट्रिय जगतमा चलचित्रका माध्यमबाट महिला सशक्तिकरण, भाषा, संस्कृति र पर्यटनको आदानप्रदान हुनेछ। महोत्सवमा लघु चलचित्र प्रतियोगिताको छैठौं संस्करणका विजेता घोषणा हुनेछन्। प्रतियोगितामा महिला निर्देशकद्वारा निर्देशित चलचित्रहरू मध्यबाट प्रथम, द्वितीय र तृतीय चयन गरिनेछ र एक चलचित्र विशेष चलचित्रको रूपमा पुरस्कृत हुने श्रेष्ठले जानकारी दिनुभयो।
महिला पत्रकारहरूको क्षमता अभिवृद्धि र उनीहरूको सिर्जनालाई सम्मान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पहुँच पुर्याउन अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव तथा लघुचलचित्र प्रतियोगिताले मद्दत गर्ने आइवर्ट नेपालकी अध्यक्ष इच्छा गुरुङले बताउनुभयो। साथै यस वर्षबाट मोबाइलबाट निर्माण गरिएका लघु चलचित्रलाई समेत स्थान दिइएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो।
आइवर्ट नेपाल (इन्टरनेशनल एसोसिएशन अफ विमेन इन रेडियो एण्ड टेलिभिजन नेपाल) ले सञ्चार क्षेत्रमा क्रियाशील महिला पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि र सशक्तिकरणका लागि विभिन्न क्रिएटिव तालिम, कार्यशाला लगायत सञ्चारकै एक माध्यम चलचित्रको माध्यमबाट महिलाका चलचित्र उद्योगमा समान पहुँच र सशक्तिकरणका लागि पैरवी गर्दै आएको आइवर्ट नेपालकी अध्यक्ष गुरुङले बताउनुभयो।