काठमाडौं, पुस ९ । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले काठमाडौंमा आयोजित एक कार्यक्रममा ६ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । संघले हरेक वर्ष तमू ल्होसारको अवसरमा प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यस वर्ष बुधबार वितरण गरिएको हो ।
पूर्व प्रधानसेनापति छत्रमान सिंह कमला गुरुङ पत्रकारिता पुरस्कार एबीसी टेलिभिजन स्याङ्जाका संवाददाता धनबहादुर गुरुङलाई प्रदान गरिएको छ । गैर–गुरुङतर्फबाट कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्यामकृष्ण श्रेष्ठ पुरस्कृत भएका छन् ।
भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार नेपाल टेलिभिजन इटहरी च्यानलका प्राविधिक रविन गुरुङलाई प्रदान गरिएको छ । ‘तमू ल्होसार’ मूल आयोजक पत्रकारिता पुरस्कार रेडियो सगरमाथाका समाचार प्रस्तोता तथा कार्यक्रम निर्माता इच्छा गुरुङलाई प्रदान गरिएको छ ।
त्यस्तै, आदिकवि हर्कबहादुर गुरुङ पत्रकारिता पुरस्कार रेडियो मर्स्याङ्दी, लमजुङका तमू (गुरुङ) भाषा समाचार सम्पादक खुशीमाया गुरुङलाई प्रदान गरिएको छ । लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार सुनौलो नेपालकी संवाददाता सूचना गुरुङले प्राप्त गरेकी छन् ।
पुरस्कृत व्यक्तित्वहरूलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, तमू (गुरुङ) सञ्चारकर्मी संघका अध्यक्ष लाला गुरुङलगायतले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा गुरुङ समुदायले यस वर्षभित्र हासिल गरेका उपलब्धिहरू समेटेर प्रकाशन गरिएको गुरुङ वार्षिक मुखपत्र ‘गुरुङन्युज डटकम’ को विमोचनसमेत गरिएको थियो ।