काठमाडौँ, फागुन १३। इङ्ल्यान्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। श्रीलङ्काको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको रोमाञ्चक खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

सुपर–८ चरणमा लगातार दोस्रो जित निकाल्दै इङ्ल्यान्ड समूह–२ मा चार अंकसहित शीर्ष स्थानमा पुगेको छ। सोही समूहमा न्युजिल्यान्ड र पाकिस्तानको एक–एक अंक रहेको छ भने श्रीलङ्काले अंकको खाता खोल्न सकेको छैन। समूह चरणमा इङ्ल्यान्ड नेपाल रहेको समूह ‘सी’ बाट प्रतिस्पर्धा गरेको थियो।

तस्बिर : एएफपी

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो। पाकिस्तानका साहिबजादा फरहानले सर्वाधिक ६३ रन बनाए। बाबर आजम र फकर जमानले समान २५–२५ तथा शादाब खानले २३ रन जोडे। इङ्ल्यान्डका लागि लियाम डसनले तीन विकेट लिए भने जेमी ओभरटन र जोफ्रा आर्चरले दुई–दुई तथा आदिल रसिदले एक विकेट लिए।

१६५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। कप्तान ह्यारी ब्रुकले शानदार शतकीय इनिङ्स खेल्दै ५१ बलमा १० चौका र ४ छक्कासहित १०० रन बनाए। विल ज्याक्सले २८ र साम करनले १६ रनको योगदान दिए। पाकिस्तानका शाहिन शाह अफ्रिदीले चार विकेट लिए भने मोहम्मद नवाज र उसमान तारिकले दुई–दुई विकेट लिए।

सम्बन्धित खबरहरु