जाडो सुरुभएसंगै शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ । जसमध्ये छाला सुख्खा हुने समस्यालाई पनि प्रमुख मान्न सकिन्छ । सामान्यतयाः छाला ‘ड्राई’, ‘नर्मल’ र ‘ओइली’ गरी तीन प्रकारका हुन्छन्। तर जाडोमा भने ड्राई प्रकृतिका मात्र हैन सबैखाले छाला सुख्खा हुने समस्याले सताउने गर्छ।

ओंठ, गाला र हातगोडा धेरै फूट्ने र सुख्खा हुने भागमा पर्छन्। फूट्नु वा सुख्खा हुनुको प्रमुख कारण भनेको छालामा पानीको मात्रा कम हुनु नै हो। वातावरण र हाम्रो छालाबीच अत्यन्तै जटिल सम्बन्ध हुन्छ। वातावरण सुख्खा हुँदा त्यसको प्रभाव हाम्रो छालासम्मै देखापर्छ। यसै कारण जाडो मौसममा छालामा सुख्खापन तथा फुट्ने समस्या देखापर्छन् ।

उक्त समस्याको समाधान हामी घरमै गर्न सक्छौं। सुख्खा तथा फुटेको छालाको स्याहार समयमै नगर्दा विभिन्न एलर्जीहरुको जोखिम बढ्नसक्छ । छालालाई सुख्खा हुन नदिन घरमै पाइने नौनी वा नरिवलको तेल लगाउन सकिन्छ । तर घरमा यी चिजहरु छैनन् भने बजारमा पाइने भ्यासलिन तथा मोइस्चराइजिङ क्रिमको प्रयोग पनि गर्न सकिन्छ । यी क्रिमले छालामा पानीलाई बचाएर राख्ने काम गर्छ। गुणस्तरयुक्त क्रिमको प्रयोग भने अवश्य गर्नुपर्छ । भ्यासलिन वा मोइस्चराइजिङ क्रिम लगाउँदा ध्यान दिनुपर्ने कुरा भनेको यो लगाउनुपुर्व अनुहार वा हातगोडाको छाला हलुका भिजाउनु जरुरी हुन्छ । यी क्रिमले छालाबाट पानी उडेर जानबाट रोक्छ र पानीलाई सञ्चय गरेर राख्छ । छालामा भएको सुख्खापनको अवस्था हेरेर दिनमा एक देखि पाँचपटकसम्म यी क्रिमहरु लगाउन सकिन्छ।

यदी नियमित हिटर, आगो ताप्ने बानी छ भने धेरै पटक यी क्रिम लगाएको राम्रो हुन्छ। तर यि क्रिमहरु सबैलाई सुट हुन्छ भन्ने छैन तसर्थ यी क्रिमहरुको प्रयोग गर्दागर्दै छाला चिलाउने, मसिना दाना आउने समस्या देखिएमा भने चिकित्सकसँग परामर्श लिनुपर्दछ।यी समस्या आउन नदिन दैनिक रुपमा नुहाउने तथा पर्याप्त पानी पिउने गर्नुपर्छ। जाडोमा हामी कम पानी पिउने गर्छौं तर स्वस्थ मानिसका लागि दैनिक ३ लिटरभन्दा बढी पानी पिउनु जरुरी हुन्छ तसर्थ यसमा विशेष ध्यान दिनुपर्छ ।
त्यस्तै नुहाउँदा तातो पानीको प्रयोग गर्नाले सुख्खापना बढ्छ सुख्खा छाला भएका मानिसले धेरै समयसम्म तातोपानीमा नुहाएर बस्नु हुँदैन। नुहाएर निस्केपछि तुरुन्तै सफा कपडाले पुछेर मात्रै मोइस्चराइजिङ क्रिम वा नरिवलको तेल लगाउनुपर्छ। बाहिर हिँड्दा ‘एसपिएफ’ भएको सनब्ल्क क्रिम लगाउनु राम्रो हुन्छ। गर्मीको समयमा सकभर धेरै एसपिएफ भएको क्रिम आवश्यक भएपनि जाडोमा मध्यम एसपिएफ भएको क्रिम लगाउँदा फरक पर्दैन।

त्यस्तै गाला तथा हात गोडाका छालाबाहेक जाडोमा ओंठ फूट्ने समस्या पनि उत्तिकै देखिने गर्छ। ओंठ फूट्न नदिन तथा सुरक्षाका लागि तातोपीरो खाने बानी कम गर्दै जानुपर्छ। यो बाहेक धुम्रपान गर्ने अम्मल समेत त्याग्नुपर्छ। ओंठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा मास्क अनिवार्य लगाउनु पर्छ। उचित विकल्प भनेको ‘एसपिएफ’ भएको ओंठमा लगाउने क्रिम (लिप बाम) आफैसँग राख्नुपर्छ र बेला बेला आवश्यकता अनुसार प्रयोग गर्नुपर्छ ।

सम्बन्धित खबरहरु