शरदका दिनहरु जति सुकिलो हुँदै आउँछन् । मन त्यसै पुलकित हुन्छन् । ती दिनहरुका यादले मन असाध्यै उद्देलित हुन्छन् । कयौँ हिउँद बर्खासँगै तिनमा मिसिएर आएका विभिन्न उतारचढाव, सुखदुःखले जीवन सिञ्चन हुँदैछन् । उमेरको परिपक्वतासँगै सोचाइ पनि परिपक्व हुँदै आएका पनि छन् तर जब ती शैशवकालका दिन स्मरण हुन्छन् तब मन अनायासै बालसुलभ बनिदिन्छ ।

कस्तो समय थियो त्यो, जुन आज सम्झदाँ सधैँभरि एक सुनौलो किस्सा झैँ लाग्छ मलाइ । सुकसुकाउँदा प्रेमस्पर्शसँगै हुर्किएका थिए मेरा बाल्यकाल । तीज सकिएलगत्तै अब दशैँ आउने बेला भयो भन्ने मनमा हुन्थ्यो हरेक दिन दशंँ आउन अब कति दिन छ भनेर सोधेको सोध्यै गरेर आमालाई वाक्क पार्थे भनेर अझै पनि आमा सुनाउनु हुन्छ । दशैँको छुट्टी हुनासाथ आँगनको आँपको बोटमा बा’ले थापिदिनु भएको पिङमा मच्चिँदै चचहुई उराल्थे । कस्तो चञ्चलता हो आज सम्झँदा साह्रै सुखानुभूति हुन्छ । सबैभन्दा धेरै त नयाँ लुगाको मोह यति हुन्थ्यो कि लुगा किन्न बजार जाने अघिल्लो रातभरि निन्द्रा लाग्ने भए मरिजाम् । बाआमा र दाइसँग बजार गएर दशैँ भाग भनेर बा’ले फुर्के जामा किनिदिनु भएपछि के के न पाएजस्तो हुन्थ्यो । दशैँभर फुर्के जामा लाएर फुर्फुर पुतली झैँ नाचिहिँड्थे । अरुले हेरेको छ कि छैन भनेर पनि यता उति हेर्थे । सबैले मेरो राम्रो फुर्के जामा हेरिदिए हुन्थ्यो भन्ने चाहन्थेँ ।

दशैँभर एकदिन आफूलाई दुःखी महसुस गर्दथे । अष्टमी बिहान घरबाट टाढा बस्न खोज्थेँ किनकी घरमा पालेको मुने पाठो मारेको हेर्न सक्दिनँथेँ । त्यो बिहान आँगनमा ठूलो अँगेना बनाएर ताउलोमा पानी बसालेको देख्थेँ । बा’ले मार हान्ने मान्छे बोलाउन जाने भनेको सुन्थेँ अनि सुटुक्क बारीतिर लाग्थेँ । घन्टौँसम्म बारीको डिलमा बसेर एक्लै बोल्थेँ, खेल्थेँ कतै पाठो कराए जस्तो लाग्यो भने लौ मार हानेछ कि भन्ने लाग्थ्यो हतारले दुई हातले कान थुन्थेँ । अब त सकियो होला भन्ने मनमा आएपछि लुरुक्क घर जान्थेँ । बा पाठोको धन्दा गरिरहनु भएको देख्थेँ । त्यो दिन रमाएर पनि खुशी हुन्नथेँ किनकी गोठमा पाठोको आमा एक्लै भएको देख्दथेँ ।

टीकाका दिनसम्म त पाठो बिर्सिइसकेको हुन्थ्यो । केटाकेटी बुद्धि न हो खाली टीका लगाएर दक्षिणा कति पाइन्छ भन्ने ध्याउन्न हुन्थ्यो । पहेँलो जमरा, रातो टीका लगाएर खल्तीभरि पैसा हुँदा ओहो १ सारा संसार पाएझैँ लाग्थ्यो । ठूलाबडाले टीका लगाइदिई रहनुहुँदा मेरो ध्यान भने दक्षिणामा हुन्थ्यो । मासु, भात त्यस्तो वास्ता लाग्दैनथ्यो । दक्षिणाको भने खुब हिसाब राखिन्थ्यो, पाएको दक्षिणा दिनको कयौँपटक गनिरहन मन लाग्ने, सुत्ने बेला पनि हराउँछ कि भनेर निन्द्रामा घरिघरी छामिरहने । अनि मेरा साथीहरु लस्कर लागेर मामा घर गएको देख्दा मन बेचैन हुन्थ्यो किनकी मेरो मामा नै थिएनन् तर पनि ठूलीआमाको घरसम्म गएर पाकेको हजारी केरा खाएको यादले मन अहिले पनि आनन्दित हुन्छ ।

अर्को एउटा सम्झना त साह्रै रमाइलो छ, सुनाउँछु है । एकपटक घर छेउको चौतारामा घडङघडङ गरेर लंगुरबुर्जा खेलाएको देखेर छेउमै गएर हेरेँ । एक ठाउँमा ५ रुप्पे हालेको मात्र के थियो १०० रुप्पे स्वात्तै सोरेको देखेँ । ओहो ५ रुप्पेले १०० रुप्पे आउने रहेछ भनेर मेरो पालो १०० रुप्पे हाले त २०० आउँछ भन्ने लागेर त्यसै गरेँ । २०० आउने त के सबै पैसा हारेँ । रुँदै घर गएर आमालाई सुनाएँ, चाडबाडमा छोरी रोएको किन देख्न सक्नुहुन्थ्यो र आमाले अर्को पैसा दिएर फकाउनुहुन्थ्यो अनि त छोरी फुरुक्कै ।

वर्षदिन कुरेर आउने दशैँ सकिएको पत्तै नहुने, फुर्के जामा लगाएर फुरफुर घुम्ने धोको नपुग्दै फेरि स्कुल जाने दिन नजिकिने । केटाकेटी मन न हो, लाग्थ्यो दशैँको छुट्टी कहिल्यै नसकियोस् । सधैँभरि दशैँ भइरहोस् ।


– दशैं संस्मरण

सम्बन्धित खबरहरु