युरोकप फुटबल २०२० अन्तर्गत आइतबार राति तीन खेल भए । आइतबार राति भएको खेलमा अस्ट्रिया, नेदरल्यान्ड र इंग्ल्यान्ड विजयी भए भने नर्थ मेसेडोनिया, युक्रेन र क्रोएसिया पराजित भए ।

युरोकप फुटबल २०२० अन्तर्गत आइतबार राति भएको खेलमा अस्ट्रियाले नर्थ मेसेडोनियालाई पराजित गरेको छ । नर्थ मेसेडोनियालाई ३-१ गोलले पराजित गर्दै अस्ट्रिया विजयी भयो ।

अस्ट्रियाको जितमा स्टेफन लेनर, माइकल ग्रेगोरिट्स र मार्को अर्नाटोभिकले एक/एक गोल गरेका थिए । नर्थ मेसेडोनियाका गोरान पाण्डेभले एक गोल गरे पनि हार टार्न सकेनन् ।

जितसँगै अस्ट्रियाले ३ अंक पाएको छ ।

युरोकप २०२० को समूह ‘सी’ अन्तर्गत आइतबार राति भएको खेलमा युक्रेनलाई पराजित गर्दै नेदरल्यान्ड विजयी भएको छ । युक्रेनविरुद्ध नेदरल्यान्डले ३-२ को जित हात पार्‍यो ।

पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलमा पाँचै गोल दोस्रो हाफमा भएका थिए । खेलको ५१औँ मिनेटमा नेदरल्यान्डका कप्तान जर्निनियो विचनल्डेमले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए ।

यस्तै, खेलको ५८ औँ मिनेटमा नेदरल्यान्डका बाउट बेघोस्टले दोस्रो गोल गरे ।

दुई गोलले पछि परेको अवस्थामा पनि युक्रेनले नेदरल्यान्डमाथि दबाब कायमै राख्यो । खेलको ७५ औँ मिनेटमा एन्ड्रिय एर्मोलेन्कोले युक्रेनका लागि पहिलो गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्‍याए ।

खेलको ७९ औँ मिनेट युक्रेनले दोस्रो गोल गरेपछि खेल २-२ को स्थितिमा पुग्यो । नेदरल्यान्डका लागि दोस्रो गोल रोमन यारेम्चुकले गरेका थिए ।

युक्रेनले पनि लगतार दुई गोल गरेपछि खेलको अन्तिम १० मिनेट निकै रोचक बनेको थियो । खेलको ८५ औँ मिनेटमा नेदरल्यान्डका डेन्जेल ड्रम्फिसले हेडिङमार्फ गरेको गोलले नेदरल्यान्डलाई जित दिलायो ।

जीतपछि नेदरल्यान्डले ३ अंक हासिल गरेको छ ।

क्रोएसियालाई हराउँदै इंग्ल्याण्डले युरोकप २०२० मा विजयी सुरुआत गरेको छ ।

लण्डनस्थित वेम्ली रंगशालामा आइतबार साँझ भएको समूह ‘डी’ अन्तर्गतको खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले विजयी सुरुवात गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्याण्डका लागि ५७ औँ मिनेटमा रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै इंग्ल्याण्डले महत्वपूर्ण तीन अंक जोड्दै समूह ‘डी’ को शीर्ष स्थान छ । पहिलो खेलमै हार ब्यहोरेको क्रोएसिया भने समूहको पुछारमा छ ।

आज हुँदै छन् यी खेल

युरोकपमा आज समूह चरणका तीन खेल हुँदै छन् । समूह ई का दुई र समूह डीको एक खेल आज राति खेलाइँदै छ ।

आज साँझ पौने ७ बजे ग्लास्गोमा समूह डीअन्तर्गतको खेल हुने छ । उक्त खेलमा स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक मैदानमा उत्रने छ ।

त्यस्तै राति पौने १० बजे सेन्ट पिटसवर्गमा समूह ईका पोल्यान्ड र स्लोभाकियाले प्रतिस्पर्धा गर्ने छन् ।

राति पौने १ बजे समूह ई अन्तर्गत सेभियामा हुने खेलमा स्पेनविरुद्ध स्वीडेन मैदानमा उत्रने छ ।

सम्बन्धित खबरहरु