नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग खेल्न १९ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ।

ओमानमा हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नेपालले ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोव, पवन सर्राफ र रोहितकुमार पौडेललाई बन्द प्रशिक्षणमा बोलाएको हो।

विश्व कप लिग-२ को पुरानो खेल तालिका अनुसार नेपालले ओमान र अमेरिकासंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज यो वर्ष मार्च १९ देखि २८ तारिखसम्म खेल्ने तालिका रहेको थियो। तर कोभिड-१९ का कारण यो वर्ष फेब्रुअरीमा सिरिज स्थगित गरिएको थियो। सिरिजको लागि नेपालले ३२ सदस्यीय प्रारम्भिक टोलि घोषणा गरेर बन्दप्रशिक्षणनै सुरु गरेको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व कप लिग-२ मा अन्तिम पटक गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासँग नै घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो। त्यसपछि लिग-२ को खेलहरु कोरोनाका कारण बारम्बार सर्दै आएको छ। पछिल्लो पटक स्पेनमा जुलाई २० तारिख देखि निर्धारित नामिबिया र स्कटल्याण्डसंगको सिरिज नामिबियामा कोरोना महामारीको लहर बढेपछि यात्रा प्रतिबन्ध हुँदा स्थगित गर्नु परेको थियो। नेपालले सिरिजको लागि प्रशिक्षणनै सुरु गरिसकेको थियो तर सिरिज स्थगित भएपछि बन्दप्रशिक्षण स्थगित भएको थियो।

सम्बन्धित खबरहरु