अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छाडेका छन्। क्लबले विज्ञप्ति प्रकाशन गरी उनी क्लबबाट बाहिरिने भएको जानकारी दिएको हो।

मेस्सीले बिहीबार क्लबसँग नयाँ सम्झौता गर्ने भनिए पनि आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लबले विज्ञप्तिमार्फत जनाएको छ।

‘मेस्सी अब फुटबल क्लब बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लब दुवैको सम्झौता गर्न मनसाय रहे पनि पूरा हुन सकेन।’

बार्सिलोना क्लबले मेस्सीलाई अहिलेसम्म गरेका योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ। मेस्सी सन् २००३ देखि बार्सिलोना क्लबमा आबद्ध भएका थिए। त्यसको १८ वर्षपछि उनले क्लब छाडेका हुन्।

अब उनको अर्को गन्तव्यको बारेमा चर्चा सुरु भएको छ । स्काइ स्पोर्ट इटालिया र आरएमसी स्पोर्टकाका अनुसार मेस्सी र पेरिस सेन्ट जर्मेनबीच अनुबन्धका लागि छलफल सुरु भइसकेको छ ।

​बार्सिलोनासँग करारबारे छलफल असफल भएसँगै ६ पटकका बालोन डि’ओर विजेता र पीएसजीबीच छलफल भएको बताइएको छ । छलफल सकारात्मक भए लिग वानमा बार्सिलोनाका पूर्व खेलाडी नेयमारसँग मेस्सीले पुनः खेल्न पाउनेछन् । यद्यपि, मेस्सीलाई अनुबन्ध गर्नअघि पीएसजीले केही खेलाडीहरूलाई भने बेच्नुपर्ने हुन्छ ।

उता, प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी पनि मेस्सीको सम्भावित गन्तव्यका रुपमा हेरिएको छ । लामो समयदेखि मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डिओलको पुनर्मिलनको चर्चा चलिरहेको छ । म्यानचेस्टर इभिनिङ न्यूजसँग कुरा गर्दै क्लबका चिफ अपरेटिङ अफिसर ओमार बेराडाले क्लबसँग मेस्सीलाई अनुबन्ध गर्ने स्रोत रहेको बताएका छन् ।

यद्यपि, हालै ज्याक ग्रिलिसलाई १० करोड पाउन्डमा खरिद गरेको र अझै ह्यारी केनलाई पछ्याइरहेको सिटीले मेस्सीलाई अनुबन्ध गर्छ या गर्दैन भन्ने चाहिँ हेर्न बाँकी छ ।

सम्बन्धित खबरहरु