संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको पहिलो विधान महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा महाधिवेशन आयोजना गरिने छ।
एमालेले आफ्नो विधान महाधिवेशनका लागि ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं! जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं!!’ भन्ने नारा तय गरेको छ।
विधान महाधिवेशन मूल समारोह समितिले दिएको जानकारीअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १२ः१५ बजे विधान महाधिवेशन उद्घाटन गर्नेछन्। उद्घाटनपछि तीनवटा प्रस्ताव पेस गरिनेछ भने दोस्रो दिन असोज १६ गते समूहगत छलफल गरिनेछ।
महाधिवेशनमा विभिन्न क्षेत्रबाट चुनिएर आएका ६ हजार ३४७ जना प्रतिनिधिहरूको सहभागिता रहनेछन्। सहभागिताको विषय एमालेले यसअघि नै टुंग्याइसकेको छ।
जसअन्तर्गत, केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख कमरेड, जनसंगठन र पेशागत संगठनहरूबाट चुनिएका भएका प्रतिनिधि, भारत लगायत प्रवासका संघ संगठनहरूबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्य महाधिवेशनमा सहभागी हुनेछन्।
एमालेले देशभरबाट विधान महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुलाई कार्यक्रम स्थलसम्म जान र फर्किनका लागि बसको व्यवस्था गर्ने भएको छ। ललितपुरको सातदोबाटोदेखि बसको व्यवस्था गरिएको एमालेले जनाएको छ। महाधिवेशनलाई प्रविधिको सहायतामा थप भव्य बनाउने उद्देश्य लिएको छ। विभिन्न स्थानमा डिजिटल बोर्डबाट महाधिवेशनका गतिविधि प्रत्यक्ष प्रसारण गर्ने तयारी छ।
विधान महाधिवेशनबारे एमालेद्वारा बिहीबार जारी प्रेस विज्ञप्ति :
पत्रकार मित्रहरू,
हाम्रो गौरवमय पार्टी नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन (१५, १७ असोज,२०७८) को आयोजना सम्बन्धित सम्पूर्ण तयारीहरू पूरा भएको जानकारी गराउन हामी यहाँहरूका माझमा उपस्थित छौं । र, तयारीसँग सम्बन्धित कार्यहरू निम्न बमोजिम रहेको अवगत गराउन चाहन्छौं।
(१) नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ऐतिहासिक प्रथम विधान महाधिवेशन २०७८ साल असोज १५, १६ र १७ गते देशकै सुप्रसिद्ध पर्यटकीय स्थलललितपुरको गोदावरीमा सम्पन्न हुन गइरहेको छ। हाम्रो पार्टी नेकपा एमाले नेतृत्वको सरकारद्वारा निर्माण सम्पन्न गरिएको यहाँस्थित सनराइज सम्मेलन केन्द्रमा यो महाधिवेशन सम्पन्न हुँदै छ भनेर भन्न पाउँदा हामीलाई गौरव महसुस भइरहेको छ ।
(२) महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्नको निम्ति पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य कमरेड रामबहादुर थापा बादल संयोजक, कमरेड शेरबहादुर तामाङ सचिव र कमरेडहरू कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशिला नेपाल र पासाङ शेर्पा सदस्य रहनुभएको एक मूल व्यवस्थापन समिति पार्टी केन्द्रीय कमिटीको बैठकबाट गठन गरिएको छ। सोही जिम्मेवारीअनुरुप कार्यविभाजनसहित कार्य सम्पादन गरिरहेका छौं।
(३) यस महाधिवेशनको उद्घाटन असोज १५ गते अपराह्न १२: १५ बजे पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले भव्य समारोहकाबीच पानसमा बत्ती बालेर गर्नुहुनेछ । उद्घाटनका क्रममा महाधिवेशनको प्रचारस्वरुप बेलुन उडाइनेछ । राष्टिय गान गाइनेछ र सहिदहरूप्रति श्रद्धाञ्जललिपछि महाधिवेशन कार्यसूचीहरूमा प्रवेश गर्ने छ।
(४) महाधिवेशनको उद्घाटन सत्रलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता कमरेडहरूले सम्बोधन गर्नु हुनेछ।
(५) उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष कमरेड केपी शर्मा ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव कमरेड ईश्वर पोख्रेलबाट संगठनात्मक प्रस्ताव र उप महासचिव एवं संगठन विभाग प्रमुख कमरेड विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ । महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरूको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोता कमरेडहरूबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।
(६)विधान महाधिवेशनमानिम्नानुसार प्रतिनिधित्व हुनेछ।
केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य कमरेडहरू
केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य कमरेडहरू,
केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि कमरेडहरू,
प्रदेश कमिटीका सबै कमरेडहरू,
जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि कमरेडहरू,
पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद कमरेडहरू,
पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुख कमरेडहरू,
पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख कमरेडहरू,
जनसंगठन र पेशागत संगठनहरूबाट चुनिनु भएका प्रतिनिधि कमरेडहरू,
भारत लगायत प्रवासका संघ संगठनहरूबाट चुनिनु भएका प्रतिनिधि कमरेडहरू र
पार्टी केन्द्रबाट विधान वमोजिम मनोनित सदस्य कमरेडहरू ।
यसरी विभिन्न क्षेत्रबाट चुनिएर आउनुभएका छहजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हामी भव्य र सभ्यरुपमा महाधिवेशन सम्पन्न गर्नेछौं ।
प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउादै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको छ ।
(७) हलमा प्रतिनिधिहरू र अन्य आवश्यक सिट प्लानिङ व्यवस्थित गरिएको छ । मञ्चमा पदाधिकारी एवं स्थायी कमिटीका कमरेडहरूको सिट प्लानिङ गरिएको छ । मूल सभाहलमा ३ हजार प्रतिनिधिहरू, हलको दायाँ बायाँको खाली हलहरूमा १/१ हजार प्रतिनिधिहरूको लागि बस्ने प्रबन्ध गरिएको छ । यसरी नै हलको दायाँ बायाँका प्यासेजहरूको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने १/१ हजार क्षमताका हल निर्माण गरिएको छ । सम्पूर्णरुपमा ७ हजार क्षमताका हलहरू तयार गरिएको छ । समूह छलफलका लागि पनि व्यवस्थित स्थानहरू तय गरिएको छ ।
(८) महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरू सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको छ । यसको लागि तुलनात्मकरुपमा सस्तो, हाइजेनिक र समयमै खाना खुवाउनसक्ने मापदण्डका आधारमा क्याटरिडलाई जिम्मेवारी दिईएको छ ।
महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ देखि ११ बजेसम्म खानाको समय छुट्याइएको छ । सो समयसीमाभित्र सबै प्रतिनिधि कमरेडहरूले खाना खाएर हलभित्र प्रवेश गरिसक्नुपर्नेछ । दिउँसोको लागि खाजाको प्याकेट प्रबन्ध गरिएको छ । र, साँझको खाना बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने व्यवस्था मिलाइएको छ ।
(९) प्रतिनिधिहरूको लागि आवासको प्रबन्ध काठमाडौंमा रहेको प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरूको सहयोगमा सम्बन्धित भूगोलका प्रदेश कमिटीहरूले नै गर्नेगरी व्यवस्थापन गरिएको छ ।
(१०) निजी साधन नभएका प्रतिनिधि कमरेडहरूको लागि ललितपुरस्थित सात दोबाटोमा झण्डासहित बसहरूको व्यवस्था गरिनेछ । ट्राफिक तथा पार्किङको पनि यथासम्भव व्यवस्थापन गरिएको छ ।
(११) महाधिवेशन सम्पन्न गर्नको निम्ति अनेरास्ववियु, युवा संघ नेपाल, जिफन्ट र खेलकुद महासंघबाट २ सयको संख्यामा स्वयंसेवकहरूको व्यवस्था गरिएको छ ।
(१२) कोरोना महामारीकै अवस्था भएकोले त्यसप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ ।
(१३) महाधिवेशनको प्रचारको लागि वाल पेन्टिङ, वाल पोस्टरिडलाई पूर्णतः बन्द गरिएको छ । प्रचार प्रसारको निम्ति मूलतः मिडियाको सहयोग लिइएका छ। यसका साथै काठमाडौं महानगरपालिका अन्तर्गत सडकका पोलहरूमा रहेका बोर्डमा पोष्टर राखिएको छ । काठमाडौंका दरबारमार्ग, तीनकुने, चावहिल, चुच्चेपाटी, हात्तिसार कमलादी, थापाथली लगायतका स्थानमा डिजिटल बोर्डको माध्यमबाट प्रचार प्रसारको प्रबन्ध गरिएको छ ।
(१४) मिडियाको लागि महाधिवेशनमा सहभागी हुन छुट्टै पासको प्रबन्ध गरिएको छैन । सम्बन्धित मिडियाको आफ्नै परिचयपत्र देखाएर अत्यावश्क संख्या प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । मिडिया सेन्टरबाट टिभी क्यामेराले लाईभ र असोज १५, १६ र १७ गते प्रेस ब्रिफिङको लागि स्थान निर्धारण गरिएको छ ।
हार्दिक अभिवादनसहित,
रामबहादुर थापा बादल
संयोजक
मूल व्यवस्थापन समिति
१४ असोज २०७८