काठमाडौँ। पछिल्लो पाँच आर्थिक वर्षमा नेपालले विदेशबाट ६० खर्ब ४८ रुपैयाँको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ को चार महिनासम्म उक्त मूल्य बराबरको वस्तु आयात भएको हो ।

यसै अवधिमा नेपालबाट निर्यात हुने वस्तुको सूची र मूल्य भने न्यून देखिएको छ । नेपालबाट यो अवधिमा जम्मा पाँच खर्ब रुपैयाँको मात्रै निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो तथ्यांक हेर्दा नेपालले विदेशबाट सामान किन्ने दर उच्च छ । तर, नेपालबाट हुने निर्यात भने निकै न्यून छ ।

तथ्यांकअनुसार, आर्थिक वर्ष २०७४/७५ मा नेपालले १२ खर्ब ४५ अर्ब रुपैयाँको आयात गर्दा जम्मा ८१ अर्ब ३५ करोडको निर्यात गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्बको आयात गर्दा ९७ अर्ब १० करोडको निर्यात, आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्बको आयात गर्दा ९७ अर्ब ७० करोडको निर्यात भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब बराबरको सामान आयात हुँदा एक खर्ब ४१ करोड रुपैयाँ बराबरको सामानमात्रै निर्यात भएको देखिन्छ । चालू आर्थिक वर्षको चार महिनामा ६ खर्ब ५० अर्बको आयात हुँदा ८१ अर्ब रुपैयाँको सामान निर्यात भएको विभागले जनाएको छ ।

सम्बन्धित खबरहरु